कालीकोट जिल्ला नरहरीनाथ गाउँपालिका क्षेत्रमा सक्रिय सामाजिक संस्था रुपादेवी यूथ नेटवर्क ले समुदायको शैक्षिक तथा बौद्धिक विकासलाई लक्षित गर्दै सार्वजनिक पुस्तकालय निर्माण गर्ने निर्णय गरेको छ।
संस्थाको हालै सम्पन्न बैठकले युवाहरू, विद्यार्थी तथा सर्वसाधारणको अध्ययन, अनुसन्धान र ज्ञान अभिवृद्धिका लागि पुस्तकालय आवश्यक रहेको निष्कर्ष निकाल्दै उक्त निर्णय गरेको हो। पुस्तकालयमा शैक्षिक, साहित्यिक, ऐतिहासिक तथा प्रतियोगितात्मक परीक्षासम्बन्धी पुस्तकहरू उपलब्ध गराइने योजना रहेको संस्थाले जनाएको छ।
रुपादेवी यूथ नेटवर्कका अनुसार ग्रामीण क्षेत्रमा अध्ययनका लागि उपयुक्त वातावरणको अभाव भइरहेका बेला पुस्तकालयले सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ। यसका साथै डिजिटल अध्ययन सामग्री, पत्रपत्रिका र शान्त अध्ययन कक्षसमेत व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।
संस्थाले पुस्तकालय निर्माणका लागि स्थानीय सरकार, दातृ निकाय, संघ–संस्था तथा समाजसेवी व्यक्तिहरूसँग सहकार्य र सहयोगको अपेक्षा गरेको छ। छिट्टै विस्तृत योजना सार्वजनिक गरी निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी पनि दिइएको छ।
रुपादेवी यूथ नेटवर्कले यस पहललाई शिक्षामार्फत समाज रूपान्तरणको अभियानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।


